रियोः विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको ३१ औं संस्करण शुक्रबारदेखि ब्राजिलको राजधानी रियो दी जेनेरियोमा आधिकारिक रूपमा सुरु हुँदैछ । पुरुष र महिला फुटबलका प्रतिस्पर्धाहरू बुधबारबाटै सुरु भए पनि प्रतियोगिताको आधिकारिक उद्घाटन भने शुक्रबार साँझमात्रै हुनेछ । आयोजक ब्राजिलले शुक्रबारदेखि १७ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन भव्य बनाउने तयारी गरेको छ ।
उद्घाटन समारोहका लागि ब्राजिलले रियोस्थित माराकाना रंगशालालाई विशेष रूपमा तयार पारेको छ । ब्राजिलियन चलचित्र निर्देशन फर्नान्डो मेरिलेस नेतृत्वको टोलीले उद्घाटन समारोहका लागि विशेष कार्यक्रमको तयारी गरेको छ । फर्नान्डोको नेतृत्वमा अन्य दुई निर्देशक डानिला थोमस र एन्ड्रयुचा वाडिङ्टन सम्मिलित टोलीले रियो ओलम्पिकको उद्घाटनको सम्पूर्ण कार्यक्रम तयार पारेका हुन् ।
![]() |
३१औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको तयारीका क्रममा आतिशबाजी गरिदैँ । एपी/ रासस |
उद्घाटन समारोहमा प्रस्तुत गरिने सांगीतिक तथा सांस्कृतिक कार्यक्रमका लागि ब्राजिलका चर्चित कोरियोग्राफर डेबोराह कोल्करले ६ सय स्वयम्सेवकलाई तयार पारेका छन् ।
उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुखदेखि लिएर विशिष्ट पाहुनाहरू ब्राजिल पुग्ने क्रम जारी छ । उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन, नेदरल्यान्ड्सका राजा विलेम एलेज्यान्डर, फ्रान्सेली राष्ट्रपति फ्राङ्कोइज होल्यान्ड, अर्जेन्टिनी राष्ट्रपति माउरिसियो माक्री, अमेरिकी विदेश सचिव जोन केरीलगायतका विशिष्ट पाहुना रियो ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।
ब्राजिलले यस पटक उद्घाटन समारोहमा निक्कै कम खर्च गर्ने जनाएको छ । आयोजकले कम खर्चमै उद्घाटन समारोहलाई भव्य, उत्कृष्ट र पृथक् बनाउने बताएको छ । निर्देशक फर्नान्डोले रियो ओलम्पिकको उद्घाटन समारोहको कार्यक्रमले ब्राजिलको भविष्यलाई पनि इंगित गर्ने बताएका छन् । ओलम्पिकको इतिहासमा यस पटक अहिलेसम्मकै सर्वाधिक दुई सय ६ देशले सहभागिता जनाएका छन् ।
स्रोत : अन्नपूर्ण पोस्ट
स्रोत : अन्नपूर्ण पोस्ट
EmoticonEmoticon