Monday, September 5, 2016

हरेस खाने व्यक्ति कहिले पनी लोकसेवामा सफल हुँदैनन् ! राम्रोसंग अध्ययन गर्नुहोला !!

 ०७० सालमा लोकसेवा आयोगले लिएको लेखा अधिकृत परीक्षामा पहिलो नम्बरमा नाम निकाल्न सफल भएका थिए, कष्णप्रसाद खनाल । लोकसेवाले लिने गरेको हरेकजसो लिखित परीक्षामा नाम निकाल्न सफल भए पनि अन्तर्वार्तामा उनी धेरैपटक असफल भएका थिए ।
उनको पढाइ विद्यालय तहदेखि उच्च तहसम्म उत्कृष्ट नै थियो । राम्रो पढाइ भएकाले ०५२ सालको एसएलसीमा सामुदायिक विद्यालयतर्फबाट स्याङ्जा जिल्लाको प्रथम पनि भएका थिए उनी । सानैदेखि अध्ययनमा तीक्ष्ण भए पनि लोकसेवाको अन्तर्वार्तामा भने धेरैपटक असफलताको अनुभव गर्नुपर्यो । खनालले पाटन संयुक्त क्याम्पसबाट आइएससी पूरा गरेका थिए ।
आइएससी उत्तीर्ण गरेपछि बुटवलको एक निजी विद्यालयमा केही समय अध्यापन पनि गरे । बुटवलमा पढाउँदै गर्दा स्याङ्जाको लक्ष्मी उच्च माध्यमिक विद्यालयमा विज्ञान विषयको अस्थायी शिक्षकको अवसर पाए उनले । स्याङ्जामा पढाउँदै गर्दा आफ्नो मनले नमानेपछि वालिङ बहुमुखी क्याम्पस स्याङ्जामा स्नातक तह अध्ययन गर्न भर्ना भए । अध्यापनसँगै स्याङ्जामा अर्थशास्त्र र गणित विषयमा स्नातक पूरा गर्न सफल भए ।
सोही क्रममा नेपाल टेलिकमको पाँचौँ तह वरिष्ठ सहायकको परीक्षा दिए । तर, खनाल त्यसमा पनि असफल भए । सरकारी रोजगारी पाउने हरेक क्षेत्रमा असफलता हात लागेपछि विदेश जाने सोचाइ उनको मनमा आयो । उनी भन्छन्, ‘नाम निकाल्न नसकेपछि काठमाडांैमा बसेर अस्ट्रेलिया जाने भन्दै आइइएलटिएस पढ्न थालेँ ।’ आइइएलटिएसको परीक्षामा पनि उनले सात अंक ल्याउन सफल भए ।
तर, समय बित्दै जाँदा अस्ट्ेरलिया जाने मन पनि मारेर ललितपुरकै एक निजी बोर्डिङ स्कुलमा पढाउन सुरु गरे उनले । एकैपटक पढाउने, पढ्ने तथा लोकसेवाको तयारी गर्ने काम गरेको त्यो समय सम्झँदै उनी भन्छन्, ‘पढाउँदै, लोकसेवाको तयारी गर्दै पाटन संयुक्त क्याम्पसबाट मैले अर्थशास्त्रमा स्नातकोत्तर पूरा गरँे ।’ खनालले स्नातकोत्तर तह पूरा गरेपछि पनि पढाउने र लोकसेवाको तयारी गर्ने कामलाई निरन्तरता दिए । सोही क्रममा केन्द्रीय तथ्यांक विभागअन्तर्गत नेपाल आर्थिक योजना तथा तथ्यांक सेवामा खरिदारमा नाम निकाल्न सफल भए ।
खरिदारको जागिर खाएर उनको सरकारी नोकरी गर्ने इच्छा पूरा भए पनि मनले भने मानेको थिएन । भित्री इच्छा नमरेपछि नासु र लेखा अधिकृत दुवैको परीक्षामा लिखित नाम निकाल्न सफल भए । यसपटकको लेखा अधिकृतको अन्तर्वार्तामा पनि उनलाई असफलता नै हात लाग्यो ।
तर, नासुको अन्तर्वार्तामा उनी उत्तीर्ण भए । नासुको नोकरी करिब ६ महिना खाएपछि फेरि उनी लेखा अधिकृतको परीक्षामा सामेल भए । लिखित परीक्षाको अनुभव खारिँदै जाँदा यसपटक उनले अधिकृतको परीक्षामा पहिलो नम्बरमा नाम निकाल्न सफल भए । यसपटक अन्तर्वार्तामा सफल हुनबाट उनलाई कसैले रोक्न सकेन । त्यसको परिणाम उनी हाल कैलाली जिल्ला विकास समितिको कार्यालयमा लेखा अधिकृतका रूपमा कार्यरत छन् ।

टिप्स :
– लेखा अधिकृत सेवामा प्रवेश गर्न व्यवस्थापन संकाय पढेको हुनुपर्छ । व्यवस्थापन संकाय नपढेको भएमा अर्थशास्त्र, गणित र जनप्रशासन पढेको हुुनुपर्छ ।
– संविधान, ऐन–कानुन, दफा–उपदफाका विषयमा कण्ठस्त हुनुपर्छ ।
– परीक्षामा लेख्ने शैली जहिले पनि सकारात्मक हुनुपर्छ । नकारात्मक लेखाइले पास गर्न कठिन हुन्छ ।
– अधिकृतस्तरको परीक्षा दिने व्यक्तिले नियमित रूपमा लेख्ने बानी बसाल्नुपर्छ ।
– परीक्षामा आफूले जानेको भन्दा प्रश्नले खोजेको उत्तर लेख्नुपर्छ । 
– लेखाइ शुद्ध, स्पष्ट, सिलसिलेबार हुनुपर्छ ।


EmoticonEmoticon