Sunday, July 31, 2016

एम्बुलेन्स चालक पनि मापसे कारबाहीमा !

Tags

काठमाडौं: बिरामी बोक्ने एम्बुलेन्स चालकले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन हाँक्छन् भन्दा अचम्म नमान्ने कुरै आउँदैन । तर अचम्म मान्नु पर्दैन । मापसे गरी एम्बुलेन्स चलाएका १० एम्बुलेन्स चालकलाई सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।
मुद्दा चलाइएका सबै एम्बुलेन्स चालक उपत्यकाबाहिरका हुन् । उनीहरूले बिरामी लिएर राजधानीका अस्पतालमा ल्याएपछि छाडेर फर्कने क्रममा मापसे गरेको खुलेको छ । एम्बुलेन्सलाई संवेदनशील सवारीसाधनका रूपमा परिभाषित गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत वर्ष र यो वर्ष १० एम्बुलेन्स चालकलाई सार्वजनिक मुद्दा चलाइएको छ ।
गत असार २८ गते मात्रै नागढुंगानजिकै बा १३ च ८९२७ नम्बरको एम्बुलेन्स मापसे चेकिङमा पर्‌यो । सामान्यतः ट्राफिक प्रहरीले एम्बुलेन्स चालकलाई मापसे चेकिङ गर्दैन । त्यसैको फाइदा उठाउँदै चालक आशीष टन्डन (नाम परिवर्तन) विमल विशाल थपलिया प्रतिष्ठान धादिङका नाममा रहेको एम्बुलेन्स मापसे गरी हाँक्दै थिए । एम्बुलेन्स अस्वाभाविक तवरले गुडेपछि ट्राफिकले शंका लागेर मापसे चेकिङ गर्दा उनी कारबाहीमा परे ।
महानगरीय प्रहरी वृत्त थानकोटले उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा दायर गर्‌यो । आठ दिन हिरासतमा बसी १२ हजार धरौटी तिरेर टन्डन छुटे । टन्डनले भने आफूले रेड बुल खाएको तर ट्राफिकले मापसे गर्‌यो भनेर कारबाही गरेको आरोप लगाएका छन् ।
गत चैत ५ गते दरबारमार्गमा बा ५ च ५२५ नम्बरको एम्बुलेन्सका चालक रमेश कार्की (नाम परिवर्तन) समातिएका थिए । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा बिरामी छाडेर फर्कने क्रममा उनी महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गको चेकिङमा परेका थिए । मापसे गरेर सवारी हाँकेको पाइएपछि उनलाई पनि सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाएर छाडिएको थियो ।
स्रोत : अन्नपूर्ण पोस्ट 


EmoticonEmoticon